काठमाडौँ – ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ । घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नो उत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ ।
युएईविरूद्ध नेपालले प्लेइङ–११ केही परिवर्तन हुने सम्भावना छ । प्रदीप ऐरी र सागर ढकाललाई विश्राम दिएर कुशल भुर्तेल र करण केसी वा लोकेश बमलाई मौका दिने सम्भावना छ । पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ । तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ । यी दुई टिमले अन्तिम पटक एकअर्काविरद्ध सन् २०१९ फेब्रुअरी ३ मा खेलेका थिए । सो खेलमा नेपाल १४ रनले विजयी भएको थियो ।
युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ । त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ ।