सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागि थिए ।

उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान बालुवाटार पुगेका थिए । यसअघि आजै बिहान सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको थियो । अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका थिए ।

यसैबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ । बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रिरयामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन् ।

फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय थप्न नसकिने उनले बताइन् ।

‘फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो,’ सुमारले भनिन्,‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ । अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं ।’ एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्