काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार भेट भएको छ ।
ओलीलाई भेट्न कोइराला उनको निवास बालकोट पुगेका छन् । स्रोतका अनुसार मंगलबार साँझ ओलीलाई भेट्न कोइराला बालकोट पुगेका हुन् । भेटमा ओली र कोइरालाबीच स्थानीय तहको चुनावलगायत समसायिक राजनीति बारेमा छलफल भएको स्रोतले बतायो ।
निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाख ३० मा तोकेको छ । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिइरहेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहको नेतृत्व गरेका कोइरालाले पनि स्थानीय तहको चुनाव तोकिएकै समयमा हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्षसँग कोइराला भेटघाटमा पुगेका हुन् ।