काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका–७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानदेखि काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–६ मौरीफाटा बस्ने ३१ वर्षीय रमेश लुहारलाई करिब ३ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुहारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
रोल्पा, सुनिलस्मृति गाउँपालिका–६ रुईनिवाङस्थित झरना नास्ता पसलकी संचालक लुङ्ग्री गाउँपालिका–६ गुम्चाल घर भएकी ३० बर्षीया झलमली बुढाथोकीलाई करिब २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ६४ ग्राम चरेश सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका–५ पञ्चकन्या चोकबाट करिब २९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार रुपैयाँ र २ थान मोबाईल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुनिल लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।