१९ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि होला,’ मौसमविद पौडेलले भने ।
शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ । तर मध्य र पूर्व क्षेत्रमा भने यसको असर बाँकी नै रहने उनले बताए ।
आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बद्ली भई पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपातको सम्भावना छ भने तराई र पहाडी जिल्लामा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो । पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसम बद्लीसँगै वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने छ । अहिले पनि काठमाण्डौै उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसाे केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली हुनेछ । भोलि र पर्सि भने देशभरकै मौसम पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।