राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर, र भुवनबहादुर सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।
प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।