काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।
नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत रहेका छन् । त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो । नेपाली कांग्रेसमा यसअघिको महाधिवेशनमा सभापति पदमा दोस्रो स्थानमा रहेका उम्मेदवार सभापतिपछिको वरियतामा रहने प्रचलन थियो ।
१३ औं महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेलको वरियता देउवापछि दोस्रो स्थानमा कायम गरिएको थियो । त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवाको वरियता पनि दोस्रो स्थानमा कायम गरिएको थियो ।