विवेकशील साझा पार्टीद्वारा संयोजक मिलन पाण्डे निष्कासन

काठमाडौं – विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गरेको हो ।
पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ ।

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए । विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन ग¥यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास गर्यो ।

मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको थियो । यद्यपि पाण्डे पक्षले समानान्तर गतिविधि जारी राख्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्