कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता आज, संस्थापन इतरले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेन

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ । सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । नयाँ नेतृत्वको लागि चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार हुनुभएको छ ।

सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सार्नुभएको छ । महामन्त्रीका लागि संस्थापन समूहमै आकाङ्क्षीहरु धेरै छन् । डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायत नेताहरुले महामन्त्रीमा दाबी गरेका छन् । संस्थापन इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्