काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुने भएको छ ।
आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरिएको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसकेका छन् । उद्घाटन सत्र दुई घन्टा चल्ने शर्माले बताए । उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ । सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ । मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछन् भने २९ मतपत्र रहनेछ । कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ । बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ । महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबारे बन्द सत्रमा छलफल हुनेछ । कांग्रेसले बिहीबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक गरेर यी प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
कांग्रेसले अहिले नेतृत्व महाधिवेशन गरेको हो । नीति महाधिवेशन भने नयाँ नेतृत्व आएपछि हुनेछ ।