काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।
सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेको छ । सभापतिको साझा उम्मेदवार बनाउन युवा नेताहरूले पनि छुट्टै छलफल अगाडि बढाएको पाण्डेले जानकारी दिए । सोमबार दिउँसो तीन बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए । सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा नेता गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी थिए ।
उनीहरुबीच आज बिहान ९ बजे पनि छलफल हुँदै छ । आजको छलफलका युवा केन्द्रीय सदस्य, केही पूर्व जिल्ला सभापति र केही वर्तमान जिल्ला सभापतिबीच छलफल हुन लागेको पाण्डेले बताए ।