धनुषा – जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो ।
नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन् । आजदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।
मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्यरुपमा मनाइने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुँदै आएकोे महन्थ रामतपेश्वर दास वैष्णवले जनाउनुभयो ।
गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइलगायत अन्य धर्मावलम्बी पनि सामेल हुँदै आएका छन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।
पौराणिक व्यवस्थाअनुसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोलीमा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा पु¥याइन्छ । रङ्गभूमिमा स्वयम्बरका साथै वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।
महोत्सवका लागि तयारी
महोत्व मनाउनका लागि जानकी मन्दिरमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्यरुपमा मनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ वैष्णवले सबैलाई आग्रह गर्नुभएकामा सर्वपक्षीय बैठकले विभिन्न समिति उपसमिति गठन गरेको छ । जस्मा शान्तिसुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्ग भूमिमा द्वार निर्माण, स्वास्थ्योपचारका साथै पण्डाल, सवारी साधान र ट्राफिक व्यवस्थापन जस्ता उसमिति गठन गरेर भक्तजनको सुविधाका लागि कार्यरत रहेको उहाँको भनाइ थियो ।
अयोध्याबाट जन्ती नआउने
महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेकामा केही वर्षदेखि रोकिएको र यस वर्ष पनि नआउने भएको छ । विधि पु¥याउनका लागि भने केही मात्रामा साधुसन्त तथा महन्थ आउने महन्थ दासले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्ती आएका छैनन् ।
जनकपुरधाममा हुने विभिन्न महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह पञ्चमीलाई लिइन्छ । विगत दुई वर्ष कोरोनाले महोत्सवलाई पनि असर पारेकामा यस वर्ष भने केही सहज हुने विश्वास गरिएको छ । दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ ।
महोत्सवको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवका लागि तयारीमा जुट्न सरोकार निकायलाई निर्देशन दिनुभएको छ । बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा उहाँले यो महोत्सव प्रदेशको धरोहर भएकाले यसलाई भव्य र सभ्य बनाउन सबै निकायलाई निर्देशन दिनुभएको हो ।मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिँदै आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्ने प्रतिबद्धता जनाउनुभयो ।महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मूल नाकाहरूमा प्रवेशद्वारा निर्माण गर्नाका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई भनिएको थियो ।
जनकपुरधाममा सरसफाई
महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा बृहत् सरसफाइ अभियान आयोजना गरिएको छ । विवाहपञ्चमीको मूल कार्यक्रम हुने जानकी मन्दिर, रङ्गभूमि मैदानलाई केन्द्रित गरेर सरसफाइ गरिएको हो । सह महन्थ वैष्णवको अगुवाइमा भएको सरसफाइमा प्रदेश नंं २ का मुख्यमन्त्री राउतसहित विशिष्ट व्यक्तिको सहभागिता थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका प्रदेशका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासहितका सुरक्षा निकायको सहभागितामा भएकोसरसफाइ मा तीनवटै सुरक्षा निकायका पदाधिकारी र उपमहानगरपालिकाका प्रतिनिधि तथा सफाइकर्मीको उल्लेख्य सहभागिता थियो ।
महोत्सवभर माछामासु र मदिरा प्रतिवन्ध
विवाहपञ्चमी महोत्सव अवधिभर जनकपुरधाम क्षेत्रमा माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मङ्सिर १७ देखि २६ गतेसम्म नगरक्षेत्रमा माछामासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाइएको जनाएको हो । आज शुक्रबारदेखि सुरु हुन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर २६ गतेसम्म माछामासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्रीवितरण गर्न पूर्ण निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।