भरतपुर – चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीया नातिनी मनीषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।