काठमाण्डौ – आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ ।
रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो । एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोकेको हो । संविधानको धारा ८६ मा राष्ट्रिय सभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने उल्लेख छ ।
पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने गर्दछ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ । त्यही प्रावधानअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० गते सकिन लागेको हो ।