सुदूरपश्चिमका ६३ पालिकामा एमालेको नयाँ नेतृत्व, कुन पालिकाको नेतृत्वमा को ?

धनगढी — राष्ट्रिय महाधिवेशनको मिति तय गरेर धमाधम स्थानीय तहको अधिवेशनमा जुटिरहेको नेकपा एमाले सुदूरपश्चिमले बिहीबारसम्म प्रदेशका कूल ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले बाजुराको बडिमालिका नगरपालिकामा आयोजित नगर अधिवेशन । तस्बिर : अर्जुन शाह/कान्तिपुर
एमाले जिल्ला नेताहरुका अनुसार कतिपय पालिकाहरुमा अधिवेशन सुरु भएर केही दिनदेखि बन्द सत्रहरु चलिरहेका छन् । ती पालिकाहरुमा आकांक्षीहरुको संख्या धेरै भएकाले नेतृत्व चयनमा ढिलाई भएको सम्बन्धित जिल्लाका नेताहरुले बताएका छन् । प्रदेशका कतिपय पालिकाहरुको अधिवेशन भने तिहारपछि गर्ने तयारी गरिएको छ ।

६३ पालिकामा नयाँ नेतृत्व चयन भई नयाँ कमिटी गठन हुँदा तीन जना महिला मात्रै पार्टीको पालिकामा नेतृत्व गर्ने अवसरमा पुगेका छन् । अछामको तुर्माखाँद गाउँपालिकामा गौमती शाही, कैलालीका दुई पालिका गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएका छन् ।

निर्धारित समयभित्र जिल्लाका सबै पालिकाहरुको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नेमा बैतडी मात्रै छ । एमाले बैतडीले जिल्लाका सबै १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर सर्वसम्मत नेतृत्व चयन गरिसकेको पार्टीका नेता एवं प्रदेश सांसद लिलाधर भट्टले बताए । उनका अनुसार दशरथचन्द नगरपालिकामा अजबबहादुर पाण्डे, पाटनमा ललितसिंह ठगुन्ना, पुर्चौडीमा कर्णबहादुर धामी, मेलौलीमा राजबहादुर चन्द, सूर्नयामा राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा कमिटि गठन भएको छ । यस्तै, सिगासमा गोपालसिंह धामी, शिवनाथमा महेन्द्र चन्द, पञ्चेश्वरमा प्रकाश चन्द, दोगडाकेदारमा काँसीसिंह विष्ट र डिलासैनीमा रघुबीरसिंह बोहरा अध्यक्ष चयन भएका छन् ।

बाजुराका ९ मध्ये ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमालेले नेतृत्व चयन गरेको छ । जसअनुसार बडिमालका नगरपालिकामा धर्मराज पाध्याय, बुढीनन्दा नगरपालिकामा जंगविर रोकाया, बुढीगंगा नगरपालिकामा नरेन्द्र थापा अध्यक्ष चयन भएका छन् । यस्तै, स्वामिकार्तिक गाउँँपालिकामा नवराज कटेल, जगन्नाथमा गणेशराज गिरी, गौमुलमा देवबहादुर रोकाया, त्रिवेणीमा कवि बुढा र खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा गोपाल बुढा अध्यक्ष चयन भएका छन् । एमाले पार्टी कार्यालय सचिव काँसी विकका अनुसार हिमाली गाउँपाकिलामा भने अधिवेशन सुरु भएर बन्दसत्र जारी छ ।

डोटीका ९ मध्ये ८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन भइसकेको एमाले जिल्ला अध्यक्ष चक्र मल्लले बताए । शिखर नगरपालिका अध्यक्षमा भीम बलायर, आदर्श गाउँपालिकामा गोविन्द पार्की, सायल गाउँपालिकामा केशवराज उपाध्याय, बडिकेदार गाउँपालिकामा प्रकाश धामी, जोरायल गाउँपालिकामा तीर्थ भण्डारी र बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा खेम घर्ती मगर चयन भएको अध्यक्ष मल्लले बताए । दीपायल सिलगढी नगरपालिकामा कर्ण विष्ट, केआईसिंहमा तेज माझी र पूर्वीचौकी गाउँपालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन ।

डडेलधुराका ७ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको एमाले जिल्ला अध्यक्ष प्रकाश साउँदले बताए । उनका अनुसार अमरगढीमा गणेश कठायत, परशुराममा ओमप्रकाश जोशी, आलीतालमा अमर पुन, भागेश्वरमा दिपक महता र अजयमेरुमा राजपालको अध्यक्षता कमिटी गठन भएको छ । गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा अधिवेशनको तयारी भइरहेको अध्यक्ष साउँदले बताए ।

एमाले बझाङका नेता अफिलाल ओखेडाका अनुसार जिल्लाका १२ मध्ये बुधबारसम्म ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको छ । जसअनुसार बुंगल नगरपालिकामा मोहन बोहरा, साइपाल गाउँपालिकामा सुरेन्द्र बोहरा, छबिसपाथिभेरामा रामप्रसाद भट्ट, सुर्मा गाउँपालिकामा कैलाश बोहरा र केदारस्यु गाउँपालिकामा लोकेश भण्डारी, र दुर्गाथलीमा हेमराज विष्टको अध्यक्षतामा पालिका कमिटीहरु चयन भएका छन् । अध्यक्ष विष्टका अनुसार तल्कोट, जयपृथ्वी नगरपालिकामा, मष्टा, र बित्थडचीर गाउँपालिकामा अधिवेशन चलिरहेको छ । साइपाल गाउँपालिकामा अधिवेशन भएको छैन ।

अछाम १० मध्ये बुधबारसम्म ९ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको पार्टी कार्यालय सचिव लिला केसीले बताए । उनका अनुसार साँफेबगर नगरपालिकामा ललित कुँवर, मेल्लेख गाउँपालिकामा केशव साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा हर्कबहादुर साउँद, ढकारी गाउँपालिकामा कृष्णबहादुर बुढा, चौरपाटीमा झंकर साउँद, र तुर्माखाँद गाउँपालिकामा अध्यक्षमा गौमती शाही चयन भएका छन् । मंगलसेन नगरपालिकामा बिर्ख बोगटी, रामारोशन र कमल बजारमा अधिवेशन सुरु भएर बन्दसत्र चलिरहेको छ भने बिनायक नगरपालिकामा तिहारपछि अधिवेशन हुने भएको छ ।

कैलालीका १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भएको जिल्ला अध्यक्ष रतनबहादुर थापाले बताए । उनका अनुसार धनगढी उपमहानगरमा रामचन्द्र जोशी, गौरीगंगा नगरपालिकामा शान्ति सिंह, जानकीमा खकेन्द्र भण्डारी, बर्दगोरियामा मधुकर सिजापती, कैलारीमा झुमा चौधरी, जोशीपुरमा केशर चौधरी र चुरे गाउँपालिकामा चक्र बोगटी अध्यक्ष चयन भएका छन् । घोडाघोडी, लम्कीचुहा, भजनी र मोहन्याल, टीकापुर र गोदावरी नगरपालिकामा तिहारपछि अधिवेशन सम्पन्न हुने उनको भनाई छ ।

कञ्चनपुरका ९ स्थानीय तहमध्ये ५ स्थानीय तहमा एमालेले अधिवेशन सम्पन्न गरेको छ । बिहीबारसम्म भिमदत्त नगरपालिकामा हिमाल चन्द, शुक्लाफाँटा नगरपालिकामा भक्तराज जोशी, बेलौरी नगरपालिकामा बाबुराम न्यौपाने, पुनर्वास नगरपालिकामा पदम पुजारा र लालझाडी गाउँपालिकामा आमेप्रकाश रानाको अध्यक्षतामा पालिका कमिटी चयन भएको एमाले पार्टी कार्यालय सचिव कर्ण चन्दले बताए । उनका अनुसार दोधाराचाँदनी, वेदकोट, कृष्णपुर, बेलडाँडीमा तिहारपछि अधिवेशन गर्ने तयारी छ ।

एमाले दार्चुलाका सचिव खडक बडालका अनुसार ९ मध्ये बुधबारसम्म दार्चुला ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको छ । अधिवेशन सम्पन्न भएका पालिकाहरुमा दुहुमा जंगबहादुर बम्, ब्यासमा मंगलसिंह धामी, नौगाडमा जनकसिंह ठगुन्ना, महाकाली नगरपालिकामा नरसिंह चैसिर, मार्मामा धिरेन्द्र विष्ट र अपीहिमालमा ओखडसिंह रोकायाको नेतृत्वमा पालिका कमिटी गठन भएका छन् । सचिव बडालका अनुसार शैल्यशिखर, लेकम र मालिकार्जुनमा अधिवेशन सम्पन्न हुन सकेको छैन ।

एमालेले छाङरुमा पनि वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ । छाङरुका स्थानीय एवं एमाले दार्चुलाका आर्थिक विभाग प्रमुख जयन्द्रसिंह ऐतवालले ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरुमा वडा अधिवेशन सम्पन्न भइसकेको बताए । कान्तिपुरबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्