काठमाण्डौ – अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिबान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हो । तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
‘इस्लामिक इमिरेट्स (तालिबान)को आग्रह छ, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अबदेखि विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई बेवास्ता गरेमा कारबाही हुनेछ’, निर्देशनात्मक सूचनामा भनिएको छ । तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिबान सरकारले यस विषयलाई अति महत्त्व र गम्भीरतापूर्वक लिएको जानकारी दिए ।
अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका देशका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । तालिबान सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ ।
तालिबान सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरूलाई अप्ठ्यारो पनि पार्ने भएको छ ।
तत्कालीन तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ । तर तालिबान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन् । उनीहरूले आफूहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दा भन्दा लचक हुने दाबी पनि गरेका छन् ।