फुङ्लिङ, कात्तिक ९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।
सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर, एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि रु एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट रु १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ । ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।
रासस