अन्जु कार्की
सर्वप्रथमतः काठमाडौं महानगरपालिका वडा नं ३२ का क्रियाशील सदस्य साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । साथीहरुले प्रकट गर्नु भएको यो विश्वास प्रति म ऋणी छु ।
नविनिर्वाचित वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि अग्रज तथा साथीहरुलाई हार्दिक शुभकाना प्रकट गर्दछु । उपविजेता साथीहरुको योगदानलाई हार्दिक कदर गर्दै आगामी दिनमा उचित व्याक्ति उचित स्थानको आधारमा भूमिका दिलाउनका लागि आँफुले सकेको प्रयास गर्ने वाचा प्रकट गर्दछु ।
एउटा भनाई नै छ – ‘एक माघले जाडो सकिँदैन ।’ गर्नुपर्ने कामहरु निकै धेरै छन् । नेपाली कांग्रेसका सबै साथीहरु एक ढिक्का नभएसम्म चुनौति समाना गर्न सकिन्न भन्ने यर्थाथतालाई हामीले विर्सनु हुन्न । महाधिबशेनको प्रक्रिया प्रारम्भ भएको मात्रै हो । वडा तह भन्दा माथिका सम्पूर्ण प्रक्रियाहरु बाँकी छन् । यस घडिमा आफ्नो मनमा लागेका र खड्किएका केही कुरा साथीहरु समक्ष शेयर गर्न चाहन्छु ।
संविधानले जनतालाई दिएको अधिकार कार्यान्वनका लागि हो पार्टी चाहिने भनेको । नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले जनतालाई दिएका अधिकारहरू कार्यान्वयन गर्ने संयन्त्र नेपाली कांग्रेसले निर्माण गरेकै छैन । यस्तो अवस्थामा अरू सुझाव दिनुको अर्थ के हुन्छ ? उदाहरणका लागि संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये कम्तिमा एक पद महिलाका लागि आरक्षण गरेको छ । सभामुख र उपसभामुखको हकमा पनि यही प्रावधान संविधानमा छ । संविधानले महिलालाई दिएको यो अधिकार कार्यान्वयनका लागि नेपाली कांग्रेसले पनि आफ्नो विधानमा पार्टी सभापति र उपसभापति मध्ये कम्तिमा एक जना महिलाको व्यवस्था गर्नुपर्ने होइन ? भोलि राष्ट्रपति बनाउनुपर्ने महिलालाई पार्टीमा स्थापित गरिएन भने, प्रशिक्षत गरिएन भने संविधानको संरक्षण र कार्यान्वयनमा राम्रो परिणाम आउँदैन । तर, कांग्रेसले दुई जना उपसभापति र दुई जना महामन्त्रीको व्यवस्था गरेको छ, तर महिलाका लागि ठाउँ राखेको छैन ।
नेपालको पहिलो मन्त्री को ? भनेर हाजिरी जवाफ प्रतियोगितामा सोधिँदा द्वारिकादेवी ठकुरानीको नाम आउँछ । उनी नेपाली कांग्रेसकी प्रथम जननिर्वाचित सांसद पनि थिइन भन्ने सन्देश जाँदा कांग्रेसको साख बढी रहेको छ । तर अहिलेसम्म नेपालको पहिलो महिला प्रधानमन्त्री को ? भनेर प्रश्न सोध्न सकिने अवस्था छैन । पहिलो महिला राष्ट्रपतिको कीर्तिमान त एमालेले राखिसक्यो । कम्तिमा पनि पहिलो महिला प्रधानमन्त्रीको कीर्तीमान राख्नेतर्फ नेपाली कांग्रेसले आफ्नो विधान तथा संगठनिक संरचना विकास गर्नु पर्ने होइन र ? भीमसेन थापादेखि हालसम्मको २ सय १५ वर्षमा नेपालको इतिहासमा ३८ जना पुरुषपात्रहरूको नाम प्रधानमन्त्री पदमा दर्ता हुँदा एक जना पनि महिलाको नाम छैन ।
सात दशकको इतिहास भएको दलका पुरुष नेता पाँचपटक प्रधानमन्त्री हुँदा एक जना पनि महिलाले अवसर नपाउनु दुःखद् आश्चर्य हो । भनाइमा आधा आकाश तर व्यवहारका कतिपय अवस्थाहरूमा पूरै आकाश ढाकेका नेपाली नारीहरू यस्तो अवसरबाट वञ्चित हुनु समकालीन नेपालको ठूलो विडम्बना हो । फिनल्यान्डमा ३४ वर्ष उमेरकी महिला प्रधानमन्त्री छिन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना कालमा आफूलाई विश्वकै अब्बल नेतृका रूपमा स्थापित गराएकी छन् ।
केन्द्रमा मात्रै होइन स्थानीय तहमा पनि मेयर र उपमेरमध्ये कम्तिमा एक जना महिला हुनुपर्ने व्यवस्था संविधानले गरेको छ । तर, नेपाली कांग्रेसको स्थानीय संगठनमा सभापति र उपसभापतिमध्ये कम्तिमा एक जना महिला हुनुपर्ने व्यवस्था छैन । नेपाली कांगग्रेसमा नेताले कार्यकर्तालाई सदस्यताको टीको लगाइदिने प्रथा छ । फरक मत राख्नेलाई किनारामा पार्ने चलन छ । दुरदराजका गाउँमा जनाउँ । राणाकालमै महिलाका लागि स्कुल क्याम्पस स्थापना भएको काठमाडौं उपत्याकाको चर्चा गरौँ । २००४ सालमा न नगरपालिकाको निर्वाचन हुँदा साधना अधिकारीले चुनाव जितेको ठाउँ हो यो । महिलाहरूले राणा शासकलाई घुँडा टेकाएर स्कुल कलेज स्थापना गराएको ठाउँ हो काठमाडौं । करिव ४० लाख जनसंख्या ओगटेको काठमाडौं उपत्यकाबाट मंगलादेवी सिंहको अवसानसँगै नेपाली कांग्रेस महिला नेतृत्वविहीन छ । नेपाली कांग्रेसको संगठनमा काठमाडौं उपत्याकाभित्र त यस्तो हालत छ भने दुरदराजका गाउँबाट कसरी नेतृत्वमा महिलाको उदय हुन सक्छ ?
यो आलेखमा केही चर्चा काठमाडौं कांग्रेसकै बारेमा गर्नु सान्दर्भिक ठान्दै काठमाडौं कांग्रेसका अगुवाहरूलाई केही आग्रह गर्न चाहन्छु ।
१. काठमाडौं जिल्लामा कुनै वडाको जनसंख्या ७० हजारभन्दा माथि छ । कुनै वडाको जनसंख्या पाँच हजारभन्दा तल छ । त्यसैले जनसंख्याका आधारमा छुट्टै संगठानत्मक इकाइको निर्माण गर्नुपर्छ । २० हजार जनसंख्या बराबर एउटा इकाइ बनाउँदा उचित होला । पातलो बस्ती भएका नाङ्लेभारे, जरसिंहपौवाजस्ता ठाउँहरूलाई भने भूगोलकै आधारमा इकाइहरू बनाउँदा जाति होला ।
२. काठमाडौं जिल्लाका अधिकांश वडाहरूमा जनसंख्याको अनुपातमा मतदाता संख्या थोरै छ । काठमाडौंमा बस्नेमध्ये आधाभन्दा बढी बाहिरका मतदाता हुन् । ७७ वटै जिल्लाका महत्वपूर्ण नेता तथा कार्यकर्ता काठमाडौंमा बस्छन् । चुनावमा मात्रै उनीहरू आफ्नो गृहजिल्ला जान्छन् । अघिपछि सधँै काठमाडौं बस्छन् । उनीहरूको उपयोग काठमाडौं कांग्रेसले कसरी गर्ने ? भन्ने वस्तुगत आधार तयार गर्नुप¥यो । यसका लागि हरेक वडामा हरेक जिल्लाको सम्पर्क समिति निर्माण गर्नेतर्फ काठमाडौं कांग्रेसले पहल गरोस् । उदाहरणका लागि हाम्रो ३२ नं वडामा ७७ वटै जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताको बसोवास छ । सय जनाभन्दा बढी नेता तथा कार्यकर्ता (क्रियाशील सदस्य, भ्रातृ संस्थाका कार्यकर्तासमेत) भएको जिल्लाका लागि सम्पर्क समिति निर्माण गरी वडा कार्यसमितिले परिचालन गर्ने प्रबन्ध मिलाउने । अथवा प्रदेशस्तरीय सम्पर्क समिति अपवाद बाहेक हरेक वडामा बनाउन सकिन्छ ।
३. काठमाडौंका वडा र तराई तथा हिमाली–पहाडी क्षेत्रका अति ग्रामीण वडा कार्यसमितिहरूबीच भगिनी संबन्ध स्थापित गर्दा राम्रो होला । अतिग्रामीण क्षेत्रका कार्यकर्ताहरू दुई सय रुपैयाँ नहुना क्रियाशील सदस्यता नवीकरण गर्न नसक्ने अवस्थामा छन् । छोराछोरीको फि तिर्न नसक्ने अवस्थामा छन् । काठमाडौंका धनी तथा समाजसेवी कार्यकर्ताहरूलाई अति दुर्गम क्षेत्रका विपन्न कार्यकर्तासँग जोड्न सक्ने हो भने कांग्रेसको संगठनलाई थप मद्दत पुग्छ ।
४. वडा कार्यसमितिलाई राजनीतिक काममा मात्रै केन्द्रित गर्ने । विकास निर्माणका काम तथा जनताको सेवा सुविधाको अनुगमन गर्न छुट्टै संयन्त्र निर्माण गर्ने ।
५. वडा समितिले हरेक वर्ष आफ्नो वडा भित्रका व्यवसायी, समाजसेवी, नागरिक समाजका अगुवा, कवि, लेखक लगायतलाई यो पार्टी ऊ पार्टी नभनी सम्मान तथा अभिनन्दन गर्ने परिपाटी सुरु गर्ने ।
६. निष्ठावान नेता तथा कार्यकर्ता सहितको बलियो संगठनले मात्रै पार्टीको सिद्धान्त र आदर्श कार्यान्वयन गर्ने क्षमता राख्छ भन्ने यथार्थतालाई मूलमन्त्र बनाउनुपर्छ । पार्टीको आन्तरिक चुनावमा संगठन कब्जा गर्ने उद्देश्यबाट क्रियाशील सदस्यता नवीकरण तथा वितरण हुने अवस्थालाई तत्काल रोक्नुपर्छ । यसका लागि महाधिवेशन सम्पन्न हुनासाथ क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सुरु गर्ने । वडा अधिवेशन हुनुभन्दा एक वर्षअघि नै क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम बन्द गर्ने ।
७. केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई बडा तहसम्म विस्तार गर्ने । क्रियाशील सदस्यता प्रदान गर्नुअघि अनिवार्य रूपमा प्रशिक्षण लिएको हुनुपर्ने । प्रशिक्षण प्रतिष्ठानले अन्तवार्तामार्फत सिफारिस गरेकोलाई मात्रै क्रियाशील सदस्यता प्रदान गर्ने । यसका लागि प्रतिष्ठानले हरेक वडामा प्रशिक्षण संयोजकका रूपमा पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्ने । यस्तो पूर्णकालीन कार्यकर्ता सकेसम्म अर्कै प्रदेशबाट ल्याउने ।
८. केन्द्रीय समिति छरितो आकारको बनाउने, पार्टीका सिद्धान्त तथा आदर्श एवं अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मामिला बाहेकका मुद्दामा केन्द्रीय समितिलाई नआल्झाउने । यसतर्फ काठमाडौं जिल्ला सभापतिले ७७ जिल्ला सभापतिको नेतृत्व लिनुपर्छ । यसका लागि प्रदेश समितिहरूलाई बलियो र अधिकार सम्पन्न बनाउने । प्रदेश सरकार तथा संसद् एवं त्यसभन्दा तलको सम्पूर्ण जिम्मेवारी प्रदेश समितलाई दिने । प्रदेशसभा सांसद तथा मेयर उपमेयर लगायतका उम्मेदवारको चयन गर्ने अधिकार प्रदेश समितिलाई दिने । प्रदेश समितिको सभापतिको निर्वाचन क्रियाशील सदस्यहरूमध्येबाट प्रत्यक्ष रूपमा गराउने । प्रदेश समितिको सभापति केन्द्रीय समितिको पदेन सहमहामन्त्री हुने प्रबन्ध मिलाउनुपर्छ ।