काठमाडौँ – साहस उर्जा लिमिटेडले आज बुधबार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गेरको शेयरमा असोज १० गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असोज २० गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।