काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन् ।
मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने जानकारी दिएका छन् । एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ ।
अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि सत्ता पक्षले विपक्षीलाई सहमतिमा ल्याउने कोसिस गर्न थालेको हो ।