काठमाण्डौ – सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।
आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
यस्तै बजेटमा विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा बलिदान गर्ने परिवार अर्थात् शहीद परिवारलाई जीवनवृत्ति स्वरूप महिनाको तीन हजार रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।
सरकारले कोरोना महामारीका कारण काम गुमाएका पाँच लाख गरिब परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ सहयोग दिने पनि बजेटमा उल्लेख छ ।