नेपालले बंगलादेशलाई २–१ गोलले हरायो

काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पराजित गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो।

नेपालको जितमा दुवै गोल डेब्यू खेलाडीले गरे । खेलको १४ मिनेटमा सविता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । उनले डिबक्सभित्रबाट हेडमार्फत गोल गरेकी थिइन् ।

खेलको २३ मिनेटमा अर्की डेब्यू खेलाडी प्रिती राईले नेपालको अग्रता दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो। बंगलादेशका लागि तौरा खातुनले गोल गर्न सफल भइन् ।

यो खेल नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको पहिलो खेल हो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि नेपालले दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन । दशरथ रंगशालामा खेल्ने अवसर नेपाली महिला टिमले अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३५ वर्षपछि मात्र पायो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्