काठमाण्डौ – सरकारले राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गर्ने निर्णय गरेको हो ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै यससम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना–२०७८ को कार्यतालिका मन्त्रिपरिषदमा पठाएको थियो । विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम सुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको काम भदौदेखि नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।
कार्यतालिकाअनुसार भदौ २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र ३० गतेदेखि असोज १८ सम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिनेछन् ।