काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै, यस्तो हुनेछ वडाको संरचना

काठमाडौँ – नेपाली काँग्रेसले सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको बताए । ती जिल्लामा निर्वाचन अधिकृत खटाइएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको जानकारी दिए । जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएको जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक एक जनाका दरले मतदान अधिकृत खटाइने छ ।

कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ ।

वडाको संरचना
पार्टीको वडा अधिवेशनले पार्टीको वडा कार्यसमिति गठन गर्नेछ भने वडाबाट क्षेत्रीय प्रतिनिधिहरू चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगरसमितिको निर्वाचनमा सहभागी हुन पाउनेछन् । क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्नेछन् । पार्टीको सबैभन्दा तल्लो तहको सङ्गठन गाउँ तथा नगरपालिकाको वडा समितिका सभापतिलगायतका प्रमुख पदहरू निर्वाचनकै माध्यमबाट चयन गरिँदैछ ।

विगतको प्रावधानमा परिवर्तन गर्दै काँग्रेसले यस पटक प्रमुख पदहरू क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाएको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १४औँ महाधिवेशनबाट यो प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिए । सोअनुसार गाउँ तथा नगरमा वडा समितिका सभापति, दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव वडाभित्रका क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएरै आउनुपर्ने छ । वडा कमिटीको कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने व्यवस्था छ । यसअघि १३औँ महाधिवेशनमा काँग्रेसको गाउँ तथा नगर कमिटी वडामा सभापति, सचिव र कोषाध्यक्ष मात्र निर्वाचित हुने प्रावधान थियो ।
वडाको उपसभापति, सचिव, सहसचिवलगायतका पदमा सभापतिले मनोनीत गर्ने प्रावधान थियो । पार्टीको विधानअनुसार क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगर वा गाउँ वडा कार्यसमितिको सभापतिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्