काठमाडौं – नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक भएर अघि बढ्ने घोषणा गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो ।
महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए ।