काठमाडौँ – कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन् । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।
गोकर्णेश्वर नगरपालिकामा मंगलबारबाट भौतिक रुपमै विद्यालय सञ्चालनमा आएका छन् ।
सरोकार पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय भएसँगै मंगलबारबाट नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
विद्यालय खुलेपनि विद्यार्थीको उपस्थिति भने न्यून रहेको विद्यालयका शिक्षकहरु स्वयं बताउँछन् । जोरपाटीस्थित छाहारी शिक्षा सदनका प्रधानाध्यापक अनिल पराजुलीले मंगलबार एक तिहाइ मात्रै विद्यार्थी उपस्थिति भएको बताए ।