वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यको साता नबित्दै पद संकटमा

काठमाडाैँ –  नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको केहि दिनमै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई दिइनन् ।

अध्यक्ष ओलीलाई साथ दिएपछि शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा भदौ २ गते राति संसदीय दलको नेता चयन गरिएको थियो । शाक्य प्रदेशसभामा बहुमतप्राप्त दल नेकपा एमालेको संसदीय दलको नेताको रुपमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

संविधानअनुसार सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।

नयाँ दल दर्ता भएको औपचारिक पत्र प्रदेशसभामा भने आइसकेको छैन । दल विभाजन अध्यादेश अनुसार कुनै दल विभाजित भई बनेको नयाँ दल रोज्ने सांसदले दल दर्ता भएको २१ दिनभित्र निवेदन दिनुपर्नेछ । बुधबार नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि २१ दिनसम्म प्रदेशसभा सदस्यले दल रोज्न पाउनेछन् । वाग्मती प्रदेशसभामा यो पार्टीमा कति सांसद हुनेछन् भन्ने टुंगो २१ दिनपछि लाग्नेछ ।

वाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये ओली पक्षका ३४ र नेपाल पक्षका २२ सांसद थिए । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्