काठमाडौँ – छोराको दुवै मिर्गौला फेल भएपछि तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीको मुहारमा खुसी छैन ।
२८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेको हो । छोरालाई कसरी बचाउने भन्नेमा उनकी आमा चिन्तित छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणका लागि लाग्ने खर्च नै नभएपछि उनको परिवार समस्यामा परेको छ । उनले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन् ।
त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले बताए । सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भए पनि प्रत्यारोपण खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै रहेको उनले बताए ।
प्रत्यारोपणका लागि रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् । हालसम्म रु छ लाख खर्च भइसकेको छ ।
अनुपको उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । हालसम्म रु आठ लाख सङ्कलन भएको पदमले बताए ।