काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगले जनाएको छ ।
आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको छ ।
१२ हजार बढी शिक्षक दरबन्दी रिक्त
आयोगका अनुसार १२ हजार बढी शिक्षक दरबन्दी रिक्त रहेको छ । आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले २०७७ साल चैत मसान्तसम्मको १२ हजार बढी रिक्त दरबन्दी रहेको जानकारी दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ दरबन्दी रिक्त छ ।
आयोगले केन्द्रलाई २०७८ चैत मसान्तसम्मको रिक्त दरबन्दी पठाउन अनुरोध गरेको जनाएको छ । प्रवक्ता मरहट्ठाले भने ‘२०७८ सम्मको रिक्त दरबन्दीको विवरण भयो भने थप मान्छे स्थायी हुन पाउँछन् भनेर थप गरेर पठाउन अनुरोध गरेका छौं ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भदौ १० सम्म सबै जिल्ला समन्वय इकाइलाई विवरण पठाउन सूचना जारी गरेको छ ।
शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनले सामान्य परीक्षा १०० पूर्णांकको र १०० पूर्णांकको विषयगत परीक्षा भनेर तोकेकाले शिक्षकहरुले २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ । सामान्य परीक्षामा १०० पूर्णांकमा ५० अंक ल्याउनेहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।
त्यस्तैगरी मानवस्रोत विकास केन्द्रले करिब २ हजार ६ सय विभिन्न तहका शिक्षकहरुको बढुवा प्रयोजनका लागि रिक्त विवरण पठाएको आयोगले जनाएको छ ।