काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरण पुगेर पदभार ग्रहण गर्नुभएका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई नागरिकको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । अघिल्लो कार्यकालमा लोडशेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेस गर्दै घिसिङले भन्नुभयो, ‘यस पटक त्यति बेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ ।