काठमाडौँ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले प्रदेशको साझा मनोवैज्ञानिक स्थापित गर्ने र गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै छोड्न बाध्य भएको बताएका छन् ।
बुधबार मुख्यमन्त्री पदाबट राजीनामा दिए पश्चात प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे ।
‘मुख्यमन्त्रीका रूपमा प्रदेशमा अगाडि सारिएका अधिकांश योजना पूरा गर्न सफल भए पनि नमूना र गर्व गर्न लायक प्रदेश बनाउने योजना बिचमै रह्यो,’ उनले भने ।
पोखरेलले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताए ।