काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै उनले सो क्षेत्रमा बाढीले पुल बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न ठूलो समस्या भएकाले तत्काल पुल स्थापनाको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनसँगै सो क्षेत्रमा बाढी जानुको कारणबारे अध्ययन गर्न पनि प्राधिकरणलाई बाटो खुलेको छ । प्रधानमन्त्री देउवाले अन्य मुलुकको अनुभव समेत लिएर मेलम्ची खोला र सो क्षेत्रमा लेदो बग्नुको कारणबारे अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिए । असार १ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचवटा पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पु–याएको थियो ।