काठमाडौँ – नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ ।
बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो । जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए ।
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान गर्न बैठक राखिएको जानकारी दिए ।
उनकाअनुसार बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी हुनेछन् । कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ ।
विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ । अधिवेशनका लागि अर्को मिति तोकिएको छैन ।
क्रियाशीलमा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा २० दिनदेखि धर्ना दिइरहेका छन् । यस्तै आफूहरूले पठाएका सबै क्रियाशीललाई सदर गर्न कार्यालयमै बाराका सभापतिसहितले काउन्टर धर्ना जारी राखेका छन् ।