काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने नागरिकलाई पैसा दिने भएका छन् । उनले खोप लगाउने नागरिकलाई प्रतिव्यक्ति १ सय डलरका दरले पैसा दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।
उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ । संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।
यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।
सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन् । कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए ।