काठमाडौँ – बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ । आजको बैठक महाधिवेशन केन्द्रित रहनेछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ । अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ । यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए । उक्त समितिमा पाँच हजार उजुरी परेका थिए । बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन । यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ ।
क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । तर महाधिवेशनका प्रायः कार्यतालिका प्रभावित बनेका छन् ।