काठमाडौँ – सरकारले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । आज बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारको सो निर्णय खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ,’ उनले भने । संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ । अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो ।
अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, ब्राजिकलका लागि नारायणप्रसाद संग्रौला, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रूसका लागि जंगबहादुर चौहान, डेनमार्कका लागि सुमित्रा सुवेदी, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि यूवराज कार्कीलाई राजदूत सिफारिस गरेको थियो ।
यी मध्ये बहराइनका लागि सिफारिस गरिएका कार्कीको नियुक्ति सर्वोच्च अदालतबाटै खारेज भएको थियो ।