अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड कमाए

ताप्लेजुङ – ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् ।

अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट एक अर्ब ३५ करोडभन्दा धेरै आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

झण्डै छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४ सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा ६ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ वटा वडामा अलैँची खेती हुँदै आएको छ ।

आठराई त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्घा गाउँपालिकाको वडा नं ६ मामाङ्खेमा अलैँची खेती गरिन्छ ।

जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्