कहानीः शास्त्रमा चंचुला र बिन्दुकको कहानी बताइएको छ । चंचुला र बिन्दुक दुबै श्रीमान् श्रीमती थिए । विवाह भएदेखि नै बिन्दुक चंचुलाको उपेक्षा गर्दथे र उनी अन्य स्त्रीमा रुची राख्दथे । बिन्दुक आचरणको हिसाबले निकै गिरिसकेका थिए । धेरै समयसम्म त चंचुलाले धैर्य राखिन्, श्रीमानलाई सुधार्ने प्रयास गरिन् तर बिन्दुक सुध्रिएनन् । त्यसपछि चंचुलाले पनि आफ्नो आचरण बचाउन सकिनन् र उनको पनि अन्य पुरुषसँग सम्बन्ध स्थापित भयो ।
कुनै रोग लागेर बिन्दुकको मृत्यु भयो । चंचुला एक्ली भइन् र उनले पनि श्रीमानले झैं गलत काम गरेको भन्दै हिनताबोध भयो । त्यसपछि चंचुलाले शिवपुराणको कथा सुनिन् र शिव चरित्रले मनलाई शान्त राख्न सिकाउने उनलाई ज्ञान भयो । त्यसपछि उनी भगवान शिवकी भक्त भइन् । चंचुलाको मृत्यु भएपछि उनको आत्मा शिव लोक पुग्यो । त्यहाँ देवी पार्वतीले चंचुलाको पक्ष लिइन् र शिवजीसँग भनिन्, ‘यी महिलाको दोष त छ । उनले पनि आफ्ना श्रीमानले झैं गलत काम गरेकी छिन् । तर तपाईंले यसलाई मोक्षको वरदान दिनुपर्नेछ किनभने श्रीमानले नै उपेक्षा गरेका छन् भने श्रीमतीको के दोष ? पुरुषलाई आफ्नो र अरुको शरीरको गलत उपयोग गर्न स्वतन्त्रता दिनु हुँदैन । महिला पनि मानिस हुन् र उनी पनि भट्किन सक्छिन् ।’
त्यसपछि शिव भगवान र देवी पार्वतीले बिन्दुक–चंचुलासँग भने, ‘वैवाहिक जीवनमा श्रीमान्–श्रीमतीले एक–अर्काप्रति विश्वासयोग्य र इमान्दार हुनुपर्छ ।’ पाठः श्रीमान्–श्रीमतीले एक अर्काको विश्वास तोड्छन् भने यो सम्बन्ध टुट्न सक्छ । श्रीमान्–श्रीमतीले एक–अर्कालाई धोका दिनुहुँदैन । इमानदारी र विश्वास स्थापित गर्नुपर्छ ।