काठमाडौँ – नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनापछि झन समस्या हुने तर्क गर्नुभएको हो ।
“विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन् बिग्रिएको छ, अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ”, पाण्डेयले भन्नुभयो, “संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन ।” न्यायाधीश खतिवडाले अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो भन्ने प्रश्नमा उहाँले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको उत्तर दिनुभयो । सरकारी पक्षबाट बहस गर्ने क्रममा नायब महान्यायाधिवक्ता पाण्डेयको समय सकिएको छ । अहिले अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले बहस शुरु गर्नुभएको छ ।
रासस