कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालू आवको हालसम्म १२३ लागुऔषधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागुऔषधको तस्करी जारी रहेको बताए ।
बितेका केही महिनामा २०१ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् । “लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागुऔषधको कारोबारमा संलग्न रहेको पाइयो”, प्रवक्ता थापाले भने, “यो बीचमा दश भारतीय र चार महिलासमेत कानूनको दायरामा आएका छन् ।” प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागुऔषध नियन्त्रणका लागि उनले अभियान नै सञ्चालन गरेका छन् ।
‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागुऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ । “अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ”, थापाले भने, “लागुऔषध सेवनकर्ताबाटै यहाँ बढी घटा घटेको तथ्याङ्क छ ।” प्रहरीको तथ्याङ्कअनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३/७४ मा २२ मुद्दा, २०७४/७५ मा ५०, २०७५/७६ मा ४६ र २०७६/७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएको थियो ।
यहाँ प्रहरीको लागुऔषध अनुसन्धान ब्यूरो, सादा पोसाकमा प्रहरी परिचालन हुनाका साथै जिल्लाका अन्य प्रहरी युनिटसमेत परिचालित छन् । जिल्लामा लागुऔषधको बढी कारोबार हुने क्षेत्रमा बेलौरी, पुनर्वास, बेल्डाडी र दोधारा चादँनी रहेका छन् । “राजमार्गको उत्तरतिर चरेसलगायत अन्य लागुऔषधको कारोबार हुन्छ”, प्रवक्ता थापाले भने, “दक्षिणतिर खैरो हिरोइनको कारोबार बढी देखियो ।” प्रहरीले चालु आवमा ८२० ग्राम ३५६ मिलिग्राम खैरो हिरोइन, अढाई किलोग्राम चरेस, ६३० ट्याबलेट नाइट्राभेट लगायतका लागुऔषध बरामद गरेको छ ।
रासस