लमजुङ – भीषण बर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मंगलबार विहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको हो । दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जोखिममा परेको बताउनुभएको छ । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको बताउनुभयो । प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ । बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका एक सय बढी घर छन् । अधिकांश घर जोखिममा परेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले भने हिलेबजारका १४ घर बाढीले बगाएको बताउनुभयो । अन्य घर जोखिममा रहेको र उनीहरुलाई सुरक्षित ठाउँमा राखिएको बताउनुभयो । स्थानीय एवं वडा सदस्य चन्द्रबहादुर गुरुङका अनुसार बजार तल रहेको खोला बढ्दै आएपछि बजारका क्षति पु–याएको हो । उहाँका अनुसार हिलेबजारमा करिव एक सय २० घर छन् । दिउँसोको समयमा बाढी आएकाले घरका केही सामान सार्न भ्याएको स्थानीयले बताएका छन् । बाढीका कारण बिजुलीका पोल, खेलमैदानमा समेत क्षति पु–याएको स्थानीयले बताएका छन् । मानवीय क्षति भने भएको छैन । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका वस्ती जोखिममा रहेको जानकारी आएको बताउनुभयो । नागरिकलाई सतर्क र सुरक्षित रहन अनुरोध गरिएको बताउनुभयो ।
बाढीले अन्य ठाउँमा पनि क्षति पु–याएको छ । ग्रामीण सडकहरु क्षतिविक्षत भएको छ । बेंसीशहर–चामे सडक अन्तर्गतको बेंसीशहर नगरपालिका ६ खरखरे भिर, मस्र्याङदी गाउँपालिकाको च्याम्चेलगायतको क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएको छ । अन्य ग्रामीण सडक पनि अवरुद्ध छ । मस्र्याङदी गाउँपालिका ४ जगतमा रहेको बंगुर फार्म बगाएको छ । मस्र्याङदी गाउँपालिकाको भुलुभलेमा रहेको सव डिभिजन वन कार्यालयको भवन र एउटा रेष्टुरेष्ट पनि बगाएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं। ४ मा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको खेल मैदानको आधा भाग बाढीले बगाएको छ ।
बाढीले दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजनामा पनि क्षति पु¥याएको छ । दोर्दीमा निर्माणधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको इन्टेक डुबानमा परेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दा पाउदीमा रहेको शिवालय मन्दिर पनि बगाएको छ ।
गोरखापत्र अनलाइनबाट