सप्तरी – लकडाउन अघि युवा व्यापारी अरबिन्द दास दिनहुँ रु. चार-पाँच हजारको तरकारी बेच्नु हुन्थ्यो । सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर एक हजार नाफा कमाउनु हुन्थ्यो ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते मध्यरातदेखि सप्तरीमा शुरु भएको लकडाउनपछि हाटबजार बन्द छ । बजार बन्दले तरकारी बिक्री हुन छाडेपछि उहाँ तरबुज बिक्री गर्न थाल्नु भएको छ । ठूलो परिमाणमा किन्नुपर्ने तरकारी समयमै बिक्री नहुँदा कुहिने र प्रहरीले समेत हटियामा कडाइ गरेका कारण दासले तरकारी बिक्री गर्न छाडेर तरबुज बेच्न थालेको बताउनुभयो । “बजार बन्द छ, सडक सुनसान छ, मानिसहरूको आवतजावत नभएकाले बिक्री पनि छैन्”, उहाँले भन्नुभयो– “कुहिने डरले किनेकै दाममा पनि बेच्नु पर्ने हुन्छ भने कतिपय चिनेजानेकाहरूले त कम पैसा छाडेर समान लिएर जाने गर्छन् ।”
तरकारी छाडेर तरबुज बिक्री गर्न थाल्नु भएका दासले बिक्री बढाउन प्रतिकिलोग्राम रु २० देखि २५ मा तरबुज बेचिरहनु भएको छ ।
छुट दिँदा पनि तरबुजको बिक्री नबढेको उहाँको भनाइ छ । उहाँहरू ३-४ जना मिलेर एक ट्रयाक्टर तरबुज किन्ने गरेको बताउनुभयो । ट्रयाक्टरमा १५÷१६ क्विन्टल हुन्छ । प्रतिकिलो १५ रूपैयाँ मोल पर्ने तरबुज समयमै बिक्री नहुँदा कुहिएर नष्ट हुन्छ । टोलहरूमा घुमाएर बिक्री गर्नका लागि उहाँले दैनिक ५० रूपैयाँ तिरेर भाँडामा ठेलागाडा लिनुभएको छ । खाना खाएर ११ बजे ठेला गुडाउँदै घरबाट निक्लने उहाँ साँझ ६ बजे घर फर्कनु हुन्छ । दिनभरीमा एक हजार रूपैयाँको तरबुज पनि बिक्री नहुने गरेको उहाँको भनाइ छ । यसले उहाँलाई ६ जना परिवारको पेट भर्न गाह्रो भएको छ ।
हाटबजारमा प्रहरीले बस्न दिदैन् । त्यसैले टोलको गल्लीमा ठेला राखेर बेच्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । पोहोरको लकडाउनमा बजारमा तरकारी बिक्री गर्दा प्रहरीले कुटेको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रहरीको डरले बजारमा बस्ने हिम्मत गरेका छैनौं, प्रहरीले पनि टोलमा भिंडभाड नगरी घुमेर बेच्नु, बजार नजानु भनेर सम्झाउने गरेको छ ।” दासका बुवा वीरेन्द्रप्रसादको १५ वर्ष अघि राजविराज हटियामा किराना पसल थियो । नजिकका नातेदारहरूले उधारो खाएर तिरेनन्, पछि हटियामै आगो लागेपछि किराना पसल छाडेको उहाँको भनाइ छ ।
त्यसपछि अरबिन्दले कस्मेटिक पसल, किराना पसलमा काम गर्न थाल्नुभयो । शुरुमा रु.तीन सयमा रोजगारी गर्न थालेका दासलाई पसलले मासिक पारिश्रमिकस्वरूप पाँच हजार रूपैयाँ सम्म दियो । विवाहपछि वृद्ध बुवाआमा र छोराछोरीको पालनपोषण गर्न पाँच हजार रूपैयाँले न पुगेपछि आफ्नै व्यापार गर्ने भनेर तरकारी बिक्री गर्न थालेको उहाँले बताउनुभयो । तरकारी बिक्रीबाट दैनिक ५ सय देखि एक हजार रूपैयाँसम्म मुनाफा हुने गथ्र्यो । लकडाउन पछि तरकारी व्यापार नै बन्द भएको छ ।
उहाँको राजविराज बजारस्थित मुख्य सडकमै घर छ । आफ्नो फाँटमा परेको जम्मा २ धुर जग्गामा बनेको एउटा कोठामा बुवा, आमा, श्रीमति र छोराछोरीसहितको ६ जनाको परिवार बस्छन् । लकडाउन भए पनि सम्पन्नलाई फलफूल, तरकारी एवं खाद्यान्नको चिन्ता छैन । विभिन्न संघ–संस्था एवं मनकारी व्यक्तिहरूले विपन्न एवं सुकुम्बासीलाई राहत वितरण गरिरहेकाले उनीहरूलाई पनि समस्या नभएको दासको भनाइ छ । बजारमा घर भएपनि बहालमा बस्ने भए पनि सानोतीनो व्यवसाय गरेर अनी सबैथोक किनेर खाने वर्गको आर्थिक स्थिति लकडाउनमा नाजुक भएको छ । “आम्दानी निश्चित नभएका हामीजस्ता वर्ग चाहिँ लडकाउनमा बढी पिल्सिएका छौं, सानोतिनो व्यापारकै भरमा शहरमा टिकेका छौ,अहिले त्यो पनि बन्द छ” उहाँले भन्नुभयो, “बजारमा घर भएर के गर्नु, एउटा कोठामा ६ जना सुत्छौ, सबथोक किनेर खानु पर्छ । छोराछोरीलाई पढाउनै प¥यो । हात पसारेर माग्न पनि सकिदैन, व्यापार पनि छैन् ।”
बिक्री कम भएकाले आम्दानीको टुङ्गो नभएका साना व्यापारीहरू लकडाउनको अवधि लम्बिदै जाँदा आँत्तिएका छन् । दास झै बजारका साना चिया, नास्ता र होटेल व्यवसायी पनि तनावमा छन् । यो लकडाउनलाई थप नलम्ब्याउने गरी सरकारले सङ्क्रमित, कोरोना लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएकाको तीव्र पहिचान र उपचार गर्नुपर्ने तथा खोपको व्यवस्था गर्नुपर्ने अरबिन्दकी आमा चण्डिका दासले बताउनुभयो ।
रासस