सुशील सुवेदी, सिन्धुपाल्चोक
कोभिड–१९ को संक्रमण भएका हेलम्बु गाउँपालिकाका अध्यक्ष लगायत अन्य व्यक्तिहरु निको भएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, बैंकका कर्मचारी , र गाउँपालिकाका कर्मचारी सहित अन्य १८ जना संक्रमित र कोरोना संग मिल्दोजुल्दो लक्षण भएका ३९ जनाको स्वाब परिक्षणको लागि पठाइएकोमा १८ जनै संक्रमितको रिपोर्ट कोरोना नभएको आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ज्ञोनेन्द्र सिग्देलले जानकारी दिनुभयो ।
अहिले हेलम्बुमा कोरोना संक्रमितको संख्या ६ रहेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ को १ जना, वडा नम्बर ४ को १ जना र ६ नम्बर वडाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै गाउँपालिकाले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञाकै समयमा पनि इमरजेन्सी स्वास्थ्य सेवाहरु सुचारु भइरहेको भन्दै कोहि-कसैलाई स्वास्थ्य सँग सम्बन्धित कुनै समस्या, जिज्ञासा भएमा नजिकैको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
साथै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा निषेधाज्ञाको पुर्ण पालना भइरहेको बताउनुभएको छ । उहाँले यो विषम परिस्थितिमा गाउँपालिकाको अनुरोधलाई पालना गरिदिएकोमा सबै गाउँपालिका वासीलाइ धन्यवाद दिनुभएको छ । अध्यक्ष शेर्पाले आफुल कोरोना जितिसकेकोले अब गाउँपालिका वासीको सेवामा खटिने बताउनुभयो । उहाँले आफ्ना नागरिकमा कुनै समस्या भए तुरुन्त गाउँपालिकामा खबर गर्न समेत आग्रह गर्नुभएको छ । मातृशोकमा पुर्नभएका शेर्पाले अब छिट्टै नियमित कामकाजमा फर्किने जानकारी दिनुभयो । यस्तो महामारीमा पनि आफन्त ,गाउँपालिकावासी, सुभचिन्तक लगायतले देखाउनुभएको सहानुभूति प्रति अध्यक्ष शेर्पाले धन्यवाद दिनुभएको छ ।