नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र धारा ७६(२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल–नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना खेर गएको थियो ।
यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन् । ओली यसअघि पहिलो पटक २०७२ असोज २४ मा उनी संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । पहिलो पटकको कार्यकालमा ओलीले २०७३ साउन ९ मा राजीनामा दिएका थिए । त्यसको ११ दिनपछि २०७३ साउन २० मा पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०७५ जेठ १४ मा उनी प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री भएको एक महिनापछि ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन् । ओली पदमुक्त भएर संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था आउँछ ।