भारतमा दैनिक संक्रमितको संख्या घट्यो, मृत्युदर भने बढ्दै

काठमाडौँ – कोरोनाभारइसको दोस्रो लहरले भयावह बनेको भारतमा पछिल्ला केही दिनमा दैनिक संक्रमितको संख्यामा कमी आएको छ भने मृत्युदर बढेको छ । टाइम्स अफ इन्डियाका अनुसार पछिल्ला दिनमा भारतमा थपिएका कूल संक्रमितको एक प्रतिशतले ज्यान गुमाएका छन् ।

आइतबासम्मका पछिल्ला सात दिनमा भारतमा २७ लाख ४० हजार मानिसलाई संक्रमण भएको थियो भने २७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । भारतमा कोरोना संक्रमणबाट एकैसातामा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अघिल्लो साताभन्दा संक्रमितको संख्या ५ प्रतिशतले मात्र बढे पनि मृत्युदर भने १५ प्रतिशतले बढेको छ ।

बितेका तीन दिनमा मृत्यु हुनेको संख्या नयाँ संक्रमितको संख्याको १ प्रतिशतभन्दा धेरै रह्यो । आइतबार भारतमा ३ लाख ६६ हजार नयाँ संक्रमित थपिएका थिए । मे ६ मा एकैदिन अहिलेसम्मकै धेरै ४ लाख १४ हजार संक्रमित थपिएकामा त्यसपछिका दिनमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित घट्दै जाँदा दोस्रो लहरको संक्रमण ’पिक’ मा पुगेर झर्न लागेको हो कि जस्तो देखिए पनि एकिनसाथ भन्न सकिन्न ।

कैयौं दिनदेखि संक्रमण तीव्र भएका महाराष्ट्र, दिल्लीजस्ता राज्यमा संक्रमण घटे पनि केरला, पश्चिम बंगाल, उत्तराखण्डजस्ता राज्यमा अहिले संक्रमण उकालो लागिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्