काठमाडाैँ – नेपाल सरकारका पूर्व सचिव ई. भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । प्रत्येक बर्ष जन्मदिनको अवसर पारेर दिदैँ आइरहेको एक महिनाको पेन्सन भत्ता पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिदैँ आइरहेकोले यस बर्ष पनि जन्मदिनको अवसर पारी आज उक्त रकम हस्तान्तरण गर्नुभएको हो । आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयो । आज उहाँको ६१ औँ जन्मोत्सव हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप तथा बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता इनोभेशन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।’
पूर्व सचिव उपाध्याय सामाजिक सञ्जालमा जनसरोकारवाला पक्षहरुलाई ध्यानाकर्षण गराउन उहाँको भूमिका उल्लेख्यनीय रहेको पाइन्छ । उहाँ सामाजिक कार्यमा समेत अग्रसर देखिनुहुन्छ । सामाजिक सञ्जालबाटै गरिब, असहाय, समस्यामा परेका, बिरामी, दीर्घ रोगीहरुका लागि सहयोग रकम समेत संकलन गरि सम्बन्धित पक्षलाई हस्तान्तरण गरि समस्या समाधान गर्न उहाँले खेलेको भूमिका प्रशंसनीय रहेको पाइन्छ । यसैगरी उहाँ राम्रो कार्यको प्रशंसा तथा समाजमा भइरहेका गलत कामको विरोध गर्न समेत उहाँ अग्रपंक्तिमा देखिनुहुन्छ । उहाँको सामाजिक सञ्जालमा फ्लोवर्सहरु समेत करिब २ लाखको नजिक पुगेका छन् ।