काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको छ । मुम्बईमा आइतवार भएको पहिलो खेलमा चेन्नईले बेङ्गलोरलाई ६९ रनले हराएको हो ।
रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि बेङ्गलोरले हार बेहोरेको हो । लगातार चार खेल जितेको बेङ्गलोर पाँचौँ खेलमा पराजित भएको छ । चेन्नईले अन्तिम ओभरमा ३७ रन जोड्दा जडेजाले पाँच छक्का र एक चौका प्रहार गरे ।
चेन्नईले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनमात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । जितसँगै चेन्नई पाँच खेलमा आठ अङ्कसहित अङ्क तालिकको शीर्षस्थानमा उक्लिएको छ । पाँच खेलबाटै आठ अङ्क जोडेको बेङ्गलोर भने रनरेटका आधारमा दोस्रो स्थानमा छ ।