काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको एक अधिकारीले जानकारी दिए ।
बैठकमा सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस संयोजक ईश्वर ढकालले जानकारी दिए ।
त्यस्तै जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।
मन्त्रालयले ती जिल्लामा विद्यालयमा छोराछोरी नपठाउन अभिभावकलाई अपील गरेको छ ।