काठमाडौँ – चैत्र कृष्ण औंसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक चैत २९ गते आइतबार घोडेजात्रा मनाइँदै छ ।
सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।
आइतबार बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको ओमबहालका भुवन शाक्यले बताउनुभयो । घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा हुँदै आएको हो ।
जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो । पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ । यो जात्रालाई अब हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ । टुँडिखेलमा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँलालगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ ।
घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ । यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो ?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने प्रचलनसमेत छ । पशुपति क्षेत्रमा भने यही जात्राको दिन बज्रेश्वरी र बच्छलेश्वरीको जात्रा गर्ने प्रचलन छ ।