मुकेशप्रसाद जाेशी,कञ्चनपुर
शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य सम्पन्न भएको छ ।
पर्यटकीय क्षेत्रको विकासका लागि रु १० लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको वडाध्यक्ष बहादुर सिंह महराले बताएका छन् । झरनाको अवलोकन गर्न र झरनामा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गरी निर्माणको काम गरिएको ।
विशेषगरी झरना क्षेत्रमा नुहाउन आउने महिलालाई कपडा फेर्नका लागि निकै सास्ती हुने गरेको कुरालाई ध्यानमा राख्दै प्रदेशसभा सदस्य महेशदत्त जोशीको सिफारिसमा मन्त्रालयबाट बजेटको व्यवस्था गर्न सकिएको उनको भनाइ छ ।